काठमाडौं । बुधबार ५० अंकले उक्लिएको शेयर बजारको परिसूचक नेप्से आज फेरि घटेको छ । आज परिसूचक ३२.५१ अंकले घटेर २६३३ अंकमा बन्द भएको छ । ठूला कम्पनीको कारोबार मापन सेन्सेटिभ इन्डेक्स पनि ६.४१ अंकले घटेको छ।
आज दिनभर जम्मा २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता शेयर ३ अर्ब ७० करोड रुपैयाँमा किनबेच भए।
उच्च अंकको रेकर्ड बनाएयता बजार १७.६ प्रतिशतले घटिसकेको छ। भदौ २ गते बजार बन्द हुँदा ३१९८ अंकको उच्च रेकर्ड बनाएको नेप्से हालसम्म ५६५ अंकले झरिसकेको छ । सामान्यतः उच्चतम अंकबाट २० प्रतिशतभन्दा तल बजार झरेमा बियरिस ट्रेन्डमा गएको बुझ्ने गरिन्छ।
आज म्युचुअल फण्ड ०.०३, अन्य ४.५ र ब्यापार समूह ११८ अंकले बढे भने अन्य सबै समूह घटेका छन् । बैंकिङ २०, विकास बैंक १५५, फाइनान्स ६८, होटल तथा पर्यटन ४४, जलविद्युत ८२, लगानी १, जीवन बीमा १०१, उत्पादन १०२ र निर्जीवन बीमा १०४ अंकले घटेका छन् ।
आज ३३ कम्पनीको मूल्य बढेको छ। १४७ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रह्यो । तीन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ।