राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज, मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज, मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संसोधन) २०७८ खारेज गरेकी छन्। सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार साँझ उक्त अध्यादेश खारेज गरेकी हुन्। यससँगै सत्ता गठबन्धनमा रहेका दलहरु सरकारमा जाने तयारीमा छन् । 

संविधानको धारा ११४ को उपधारा (२) को खण्ड ‘ख’ बमोजिम अध्यादेश खारेज भएको राष्ट्रपति कार्यालयले जनाएको छ। सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेज गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

दल विभाजनका लागि २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए पुग्ने व्यवस्थासहित आफैंले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने अवस्थामा सरकार पुगेको छ।

सरकारले गत भदौ १ गते २० प्रतिशत सांसद वा दलको केन्द्रीय सदस्यहरुले चाहेमा दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो। अध्यादेश ल्याएलगत्तै माधवकुमार नेपालले नेकपा एमाले विभाजन गरी नेकपा ९एकीकृत समाजवादी० र महन्थ ठाकुरले जनता समाजवादी पार्टी विभाजन गरेर लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गरेका थिए।

अध्यादेश खारेजसँगै प्रधानमन्त्री देउवा मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेका छन् ।