काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले यो सरकारले गरेका केही गलत निर्णयले देश नै कालो सूचीमा पर्ने खतरा बढेर गएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै सांसद अधिकारीले यस्तो बताएका हुन् । उनले बजेट अध्यादेश प्रतिस्थापन विधेयकमा २१–२२ अर्ब रुपैयाँ कालोधनलाई वैधानिकता दिने प्रावधान राखेर सरकारले गलत निर्णय गरेको भन्दै यसको परिणाम नेपाल नै कालो सूचीमा पर्ने खतरा बढेको उल्लेख गरे ।
उनले भने, ‘लुटिएका २१–२२ अर्ब अन्तर्राष्ट्रिय कानून, आतंककारी कानुन समेत आकर्षित हुने गरी कानूनलाई उल्लंघन गरेर देशलाई नै कालोसूचीमा पार्ने बाटो रोजिदैछ ।’ सांसद अधिकारीले सरकारले अवरुद्ध संसदलाई सूचारु गराउन पहल नगरेको भन्दै बरु सरकारले दलीय व्यवस्थालाई नै समाप्त पार्न खोजेको आरोप लगाए ।