पाल्पाकी विष्णुकुमारी बनिन् कांँग्रेसको एक्लो पालिका सभापतिमा निर्वाचित महिला

पाल्पाकी विष्णुकुमारी बनिन् कांँग्रेसको एक्लो पालिका सभापतिमा निर्वाचित महिला

पाल्पा , नेपाली कांँग्रेसको पूर्वखोला गाउँपालिकाको अधिवेशनले महिला नेतृ विष्णुकुमारी आचार्यलाई गाउँ सभापतिमा निर्विरोध निर्वाचित गरेको छ । 

पाल्पाको पालिकास्तरको नेतृत्वमा उनी एक जना मात्रै महिला नेतृत्वकर्ता भएकी छिन् । अधिवेशन भएका पाल्पाका नौ पालिकामध्ये ८ पालिकामा पुरुष नेताहरु सभापतिमा निर्वाचित भएका छन् ।

गाउँ सभापतिमा महिला निर्विरोध निर्वाचित भएपछि कांँग्रेसका नेता कार्यकर्तासँगै आम नागरिकमा समेत सकारात्मक सन्देश गएको स्थानीय युवा नेता किशोर पंगेनीले जानकारी दिए । महिलासँगै पछाडि पारिएको समुदायले पनि कांग्रेसमा अवसर पाउँदा रहेछन् भन्ने पुष्टि भएको उनको तर्क छ । 

गाउँपालिका अन्तर्गतको पूर्वखोला–३ रिङ्नेरहमा भएको अधिवेशनबाट उपसभापतिमा मेघराज न्यौपाने र दुर्गाबहादुर सारु, सचिवमा भुपाल पंगेनी र ऋषिराम ढेंगा, सहसचिवमा नवराज श्रेष्ठ र जगत हिस्की चयन भएका छन् । कांँग्रेसको विधानमा कोषाध्यक्षमा मनोनित गर्ने व्यवस्था भएकाले अमर रानालाई कोषाध्यक्षमा मनोनित गरिएको छ ।

पार्टीका यसअघिका वडा अध्यक्षहरुलाई भने स्वतः पालिका सदस्यमा निर्वाचित गरी सहमतिमै वडा तथा गाउँ अधिवेशन सम्पन्न गरिएको नेता पंगेनीले जानकारी दिए ।