पिक्यान काठमाडाैं विशेष उपत्यका कमिटीकाे अध्यक्षमा थापा

पिक्यान काठमाडाैं विशेष उपत्यका कमिटीकाे अध्यक्षमा थापा

काठमाडाैं । प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघ (पिक्यान)को काठमाडौं विशेष उपत्यका कमिटीको प्रथम भेला सम्पन्न भएको छ । नेकपा एमालेका प्रवक्ता तथा पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममार्फत पिक्यानले आफ्नो उपत्यका विशेष कमिटी गठन तथा शपथ ग्रहण गराएको छ। 

अध्यक्ष दया थापाको नेतृत्वमा बनेको कमिटीमा ३७ जना सदस्य छन्।  चैतन्य खरेल, दिपक खनाल, सुशीला भण्डारी, बलराम आचार्य, क्षितिज विष्ट गरी ५ उपाध्यक्ष  चयन गरेको कमिटीले कृष्ण राज भट्टराईलाई सचिवका रूपमा पाएको छ।  त्यस्तै दिपक बास्तोला, गङ्गाराम बस्नेत, निरञ्जन सिवाकोटी र रविन तिमल्सिनाले सह(सचिवको जिम्मेवारी पाउँदा राम थापा कोषाध्यक्ष बनेका छन्।

कार्यक्रममा बोल्दै स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी सङ्घ (फेकन)का अध्यक्ष तथा पिक्यानका संस्थापक केन्द्रीय सदस्य बासु नेपालले परामर्श व्यवसायी सङ्घलाई कसले मोनिटरिङ गर्छ भन्ने टुङ्गो नहुँदा संविधान जारी पछि आफूहरू टुहुरो भएको बताए। उनले व्यवसायीका समस्यालाई गम्भीरतापूर्वक लिन नेपाल सरकार र पार्टी प्रवक्ता ज्ञवालीको ध्यानाकर्षण पनि गराए।

कार्यक्रमका उद्घोषक बुद्धि प्रसाद रेग्मीले व्यवसायीका समस्या पटक पटक राख्दा पनि सुनुवाइ नभएको भन्दै आउँदै गरेको पार्टीको विधान महाधिवेशनमा परामर्श भन्ने शब्द राखिदिन आग्रह गरे। उनले भने, “पार्टीकै आग्रहमा खोलिएको यो सङ्घलाई हुर्काउने जिम्मा पनि पार्टीकै हो त्यसैले हामीलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन अब  पार्टीले भूमिका खेलिदिनुपर्छ”

कार्यक्रमका प्रमुख अतिथि प्रदीप ज्ञवालीले विविध कारणले विश्व स्तरको गौरव गर्न लायक शिक्षा बनाउन नसकेको नेपालमा व्यवसायीको भूमिका प्रशंसनीय भए पनि सधैँ यो व्यवसाय वृद्धि हुनुमा नै गौरव गर्न नसकिने बताए। नेपालमै गुणस्तरीय शिक्षाको त्यो अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ थियो। “मैले व्यवसायीका विविध समस्यालाई नजिकबाट नियालिरहेको छु, यसका साथै विद्यार्थीका समस्यालाई पनि बुझिरहेको छु, त्यसैले व्यवसायीले झेलिरहेका नीतिगत समस्यालाई समाधान गर्न पहल गर्ने मेरो र पार्टीको प्रयास रहनेछ” उनले अगाडी भने। पार्टीसँग आबद्ध भइसकेपछि परैबाट चिनिनु पर्ने र नाफामुखी मात्रै भन्दा पनि गुणस्तरीय सेवा प्रदान गर्नेमा केन्द्रित हुनुपर्नेमा उनको जोड थियो।  । एकजना व्यवसायीले सिमित  नाफाका लागि एकजना विद्यार्थीमाथि खेलबाड गर्दा देशको भविष्य नै खेलबाड हुने हुँदा सचेत भएर काम गर्न उनले व्यवसायीलाई सुझाव दिए ।

कार्यक्रममा पिक्यानको उपत्यका विशेष कमिटीलाई विशेष अतिथि माननीय  एलपी साँवा लिम्बूले शपथ ग्रहण गराए । व्यवसायिक भएकाले व्यवसायी सफल भए मात्र यस्ता सङ्घ संस्था टिक्ने भन्दै लिम्बुले व्यवसायीले आफ्नो सिर्जनात्मक क्षमतालाई जसरी पनि विद्यार्थी मनाउने तिर भन्दा उनीहरूलाई वास्तविक चित्र देखाएर गुणस्तरीय सेवा दिनेतिर केन्द्रित गर्नुपर्ने बताए ।

सदस्यता विस्तार गर्दै लाने र सक्रियतापूर्वक व्यवसायीहरूलाई पार्टी काममा लगाउँदै उनीहरूको समस्यालाई पार्टी  हुँदै सरकार सम्म पुर्याउने लक्ष्य पिक्यानले लिएको  छ।