५४ जिल्लामा कांँग्रेसको गाउँ/नगर अधिवेशन सकियो, काठमाडौंमा १६ गते

५४ जिल्लामा कांँग्रेसको गाउँ/नगर अधिवेशन सकियो, काठमाडौंमा १६ गते

नेपाली कांँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा गाउँरनगर अधिवेशन सुरु भएको छ ।

कांँग्रेसले आफ्नो सबैभन्दा तल्लो तहको संरचना वडा तहको अधिवेशन सकिएका ६४ जिल्लामा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै गाउँ/नगर अधिवेशनको प्रक्रिया थालेको हो ।

कांँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले शनिबारबाट वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा गाउँरनगर अधिवेशनको प्रक्रिया शुरु भएको जानकारी दिए ।

उनका अनुसार शनिबार ५४ जिल्लामा गाउँरनगर अधिवेशन सम्पन्न भएको छ । वडा अधिवेशन सम्पन्न भइसकेका बाँकी जिल्लामा पनि आइतबार र सोमबार गाउँ/नगर अधिवेशनका लागि निर्वाचन हुनेछन् ।

कांँग्रेसको वडा अधिवेशन १८ भदौदेखि प्रारम्भ भएको थियो । संघीय राजधानी काठमाडौंमा वडा अधिवेशनको अन्तिम मत परिणाम प्राप्त नभएका कारण यहाँको पालिका अधिवेशन १६ असोजका लागि तय गरिएको छ ।

काठमाडौंको वडा अधिवेशन ५ असोजमा सुरु भएको थियो । एक महानगरपालिका र १० नगरपालिका रहेको काठमाडौँका सबै नगर र महानगरको वडा अधिवेशनको मत परिणाम प्राप्त नहुँदा पालिका अधिवेशन आरम्भ गर्न नसकिएको जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यले जानकारी दिए ।

ललितपुरको पालिका स्तरको अधिवेशन सोमबार हुने भएको छ । प्राविधिक कारण तथा वडा अधिवेशनबाट निर्वाचित सूची तयार गर्न समय लागेकोले मिति सारिएको बताइएको छ । 

थप ६ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगियो 

कांँग्रेसले शनिबार थप ६ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगाएको छ । निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार शनिबार ६ जिल्लाको क्रियाशील सदस्यताको सूची निर्वाचन समितिलाई प्राप्त भएको हो ।

उनका अनुसार महोत्तरी, सिरहा, डोल्पा, सुर्खेत, कैलाली र बाँकेको सदस्यता निर्वाचन समितिले पाएको छ । बाँकी सात जिल्लाको विवादसमेत समाधन उन्मुख रहेको बताइएको छ ।

निर्वाचन समितिले पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सप्तरी र रसुवा जिल्लाको क्रियाशील सदस्यताको सूची पाउन बाँकी छ । शनिबार सार्वजनिक भएका र बाँकी ७ जिल्लामा गरी १३ जिल्लामा एकै पटक वडा अधिवेशन गर्ने कांँग्रेसको तयारी छ ।

 यी १३ वटै जिल्लामा वडा अधिवेशन सकेर दशैं अघि नै पालिका अधिवेशन सक्ने गरी कांँग्रेसले तयारी गररहेको छ ।