सोमबारदेखि ८ लाख कित्ता आईपीओ खुल्दै

सोमबारदेखि  ८ लाख कित्ता आईपीओ खुल्दै

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले यही सोमबारदेखि सर्वसाधारणका लागि आईपीओ खुला गर्दैछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि आईपीओ जारी गरेको थियो भने दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको हो । 

प्रतिकित्ता १०० अंकित मूल्यका दरले ८ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने छ । जसमध्ये मध्ये ५% अर्थात् ४० हजार कित्ता सामुहिक लगानी कोषका लागि र २% अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

असोज ११ गतेदेखि खुला हुने उक्त आईपीओमा सर्वसाधराणले असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा असोज २५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीको शेयर बिक्री प्रबन्धकका रुपमा सिभिल क्यापिटल मार्केट रहेको छ । 

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
बुद्धभूमि नुवाकोटको तादी खोलामा ४.९९३ मेगावटको लोवरहाइड्रोपावर निर्माण गरिँदैछ ।