स्वास्थ्य उपकरण खरिदमा ४ अर्बको अनियमितता गरेको भन्दै डा जागेश्वर गौतमविरुद्ध उजुरी

स्वास्थ्य उपकरण खरिदमा ४ अर्बको अनियमितता गरेको भन्दै डा जागेश्वर गौतमविरुद्ध उजुरी

काठमाडौं । वीर अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा जागेश्वर गौतमविरुद्ध स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको भन्दै उजुरी परेको छ ।

कोभिड उपचारका लागि खरिद गर्न लागिएको स्वास्थ्य सामग्री खरिदमा सेटिङमा टेन्डर आह्वान गरेको भन्दै उनीविरुद्ध वीर अस्पताल कर्मचारी परिवारले उजुरी दिएका हुन् । सरकारले केहि समयअघि कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै वीर अस्पताललाई कोभिड यूनिफाइड केन्द्रीय अस्पताल बनाएको थियो ।

डा गौतमले नयाँ सर्जिकल भवन सञ्चालनका लागि चार अर्ब बराबरको उपकरण खरिदमा अनियमितता गरेको र उनले हालसम्म विभिन्न पदमा बसेर अकुत सम्पत्ति आर्जन गरेको भन्दै छानविनको मागसहित न्याम्सका उपकुलपति, प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि राष्ट्रिय सतर्कता केन्द्रसम्म उजुरी परेको छ ।

डा गौतमले ‘मेडिकल माफिया र स्वास्थ्य सचिवको योजनामा कोभिडको नाममा हुने उपकरणलगायतका सामान खरिदमा कमिसनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिष्ठान ऐन र नियमविपरीत वीर अस्पताललाई छुट्टाएर सो को प्रमुखमा स्वास्थ्य सेवामा विवादित र अकुत कालो धन आर्जन गरेका गौतमलाई नियुक्ति गरी आफू निकट व्यापारीलाई मात्रै हुनेगरी हालै झन्डै एक अर्ब रुपैयाँ बराबरको टेन्डर निकालेको’ व्यहोरा उजुरीमा उल्लेख छ ।