युरोकपको क्वाटरफाइनलमा पुगे यी ८ टिम, कुनकुन टिमको खेल कहिले ?

युरोकपको क्वाटरफाइनलमा पुगे यी ८ टिम, कुनकुन टिमको खेल कहिले ?

युरोकपमा गएराति अन्तिम दुई खेल सकिएसँगै अन्तिम १६ का खेलहरु सकिएका छन्। अन्तिम खेलमा स्वीडेनलाई हराउँदै युक्रेनले क्वाटरफाइनलमा स्थान बनाएसँगै क्वाटरफाइनलको समीकरण पनि पुरा भएको छ।

कुन कुन टिम पुगे क्वाटरफाइनल ?

डेनमार्क: अन्तिम १६ मा वेल्समाथि ४-० को फराकिलो जित निकाल्दै डेनमार्क क्वाटरफाइनलमा पुगेको हो।

इटली: पहिलो पटक युरो कपको अन्तिम १६ मा पुगेको अस्ट्रियालाई २-१ ले हराउँदै इटलीले अन्तिम १६ को यात्रा तय गर्‍‍यो। इटली पछिल्ला ३१ खेल यता अपराजित छ।

चेक रिपब्लिक: 'हेबि वेट' मानिएको नेदरल्याण्ड्सलाई हराउँदै चेक रिपब्लिकले क्वाटरफाइनलमा स्थान बनाएको हो। फेरेन्क पुस्कास स्टेडियममा सम्पन्न खेलमा नेदल्याण्डलाई २-० ले हराउँदै चेक रिपब्लिकले क्वाटरफाइनलमा स्थान बनाएको हो।

बेल्जियम: समूह चरणमा समूह 'बी' मा शतप्रतिशत जित निकालेको बेल्जियमले अन्तिम १६ को खेलमा साविक विजेता पोर्चुगललाई हराएको थियो। स्पेनको सेभियामा सम्पन्न खेलमा थोर्गन हजार्डको निर्णायक गोलमा बेल्जियमले पोर्चुगललाई हराएको थियो।

स्पेन: ८ गोलको 'थ्रिलर' मा क्रोएसियालाई ५-३ गोलअन्तरले हराउँदै स्पेन अन्तिम १६ मा प्रवेश गरेको हो। प्रतियोगिताका सुरुवाती दुई खेलमा बराबरी खेल्दै निराशाजनक सुरुवात गरेको स्पेनले पछिल्ला दुई खेलमा बिपक्षीको पोस्टमा समान ५-५ गोल गरेको छ।

स्वीजरल्याण्ड: विश्वकप विजेता फ्रान्सलाई स्तब्ध बनाउँदै स्वीजरल्याण्डले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो। निर्धारित ९० मिनेटको समय र अतिरिक्त समय सकिँदा पनि खेल ३-३ को बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जहाँ ५-४ ले स्वीजरल्याण्डले जितेको थियो। फ्रान्सका किलियन एम्बाप्पे पेनाल्टीमा चुकेका थिए।

इङ्ग्ल्याण्ड: प्रतियोगिताको उपाधिको बलियो दाबेदार मानिएको इङ्ग्ल्याण्डले अर्को 'हेभि वेट' टिम जर्मनीलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो। लण्डनस्थित वेम्बली स्टेडियममा सम्पन्न अन्तिम १६ को खेलमा जर्मनीलाई २-० गोलअन्तरले पराजित गरेको थियो।

युक्रेन: क्वाटरफाइनलमा स्थान बनाउने अन्तिम टोली हो युक्रेन। अन्तिम १६ को अन्तिम खेलमा स्वीडेनलाई २-१ ले हराउँदै युक्रेनले क्वाटरफाइनलमा स्थान बनाएको हो।

कुनकुन टिमको खेल कहिले?

स्पेन भर्सेस स्वीजरल्याण्ड: शुक्रवार बेलुकी पौने १० बजे

इटली भर्सेस बेल्जियम : शनिवार बिहान पौने १ बजे

चेक रिपब्लिक भर्सेस डेनमार्क: शनिवार बेलुकी पौने १० बजे

युक्रेन भर्सेस इङ्ग्ल्याण्ड: आइतवार बिहान पौने १ बजे