प्रतिनिधिसभा विघटन मुद्दा : संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ

प्रतिनिधिसभा विघटन मुद्दा : संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतमा  प्रतिनिधिसभा विघटन मुद्दाको आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास बनाइएको छ। 

सोही इजलासले  गत जेठ २६ गते सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयलगायत विपक्षीका नाममा देखाउ आदेश जारी गरेको थियो।  त्यस्तै संसद विघटन गर्नुको कारण  ७ दिनभित्र लिखित रुपमा बुझाउन सरकारका नाममा आदेश दिएको थियो। सोही आदेश अनुसार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख सापकोटाले पनि लिखित जवाफ बुझाइसकेका छन्।  

यस्तै संवैधानिक इजलासले अदालतको सहयोगीका रुपमा नेपाल बार र सर्वोच्च बारबाट २–२ जना वरिष्ठ अधिवक्ता रहनेगरी एमिकसक्युरी मागेको थियो सोही अनुसार दुवैले दुई दुई सहयोगी पठाइसकेका छन्।

असार एक गते इजलासलाई सहयोग गर्न चार जना एमिकस क्युरी  चयन भएका हुन्।  नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले दुई र दुई जना जना वरिष्ठ अधिवक्ता एमिकस क्युरी चयन गरेको हो। नेपाल बारले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकसक्युरीको रुपमा चयन गरेको छ।  

त्यस्तै सर्वोच्च अदालत बार एशोसिएसनले पनि दुई जना वरिष्ठ अधिवक्तालाई एमिकस क्युरीको रुपमा मनोनयन गरेको छ। वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी एमिकस क्युरीको रुपमा चयन भएका भएका छन्। 

असार ३ गते राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाइसकेका छन्।