स्वास्थ्य मन्त्रालयले खोप दिन सकेन, बाध्य भएर खोप कार्यक्रम स्थगित गर्नुपर्‍यो : काठमाडौं महानगर

स्वास्थ्य मन्त्रालयले खोप दिन सकेन, बाध्य भएर खोप कार्यक्रम स्थगित गर्नुपर्‍यो : काठमाडौं महानगर

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको खोप कार्यक्रम स्थगित हुने भएको छ । गएको मङ्गलवारदेखि महानगरको ३२ वटै वडामा सञ्चालन हुँदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भएपछि स्थगित हुनपुगेको हो । 

काठमाडौं महानगर सहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको खोप महाशाखाले काठमाडौं महानगरलाई थप खोप उपलब्ध गराउन नसक्ने भनेपछि चलिरहेको कार्यक्रम बाध्य भएर रोक्नुपरेको बताए । 

नेपाल सरकारलाई गएको हप्ता चीनले १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो । यसरी प्राप्त भएको खोपलाई सरकारले देशैभरि ६० वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहलाई लगाउने कार्यक्रम बनाएको थियो । ‘सरकारले ६५ हजार डोज खोप उपलब्ध गराउँछु भनेपछि खोप लगाउने कार्यक्रम सुरु गरेका थियौँ, अहिले २८ हजारलाई लगाइसकेपछि रोक्नुपरेको छ’, जनस्वास्थ्य प्रमुख कुँवरले भने । अब बाँकीलाई कसरी खोप लगाउने कुनै निश्चित नभएको उनले बताए ।

कार्यक्रमअनुसार काठमाण्डौ महानगरले गएको मङ्गलवारदेखि पाँच दिनसम्म उमेर समूहअनुसार दिन तोकी खोप कार्यक्रमको तालिका नै सार्वजनिक गरेको थियो । महानगरले बिहीवार सम्म झन्डै २८ हजार जनालाई खोप लगाइएको बताएको छ ।