प्रधानमन्त्री र राष्ट्रपतिमाथि संसद बोलाएर कारबाही गर्न माग

प्रधानमन्त्री र राष्ट्रपतिमाथि संसद बोलाएर कारबाही गर्न माग

काठमाडौं । संविधानविद् डाक्टर भीमार्जुन आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संसदको विशेष अधिवेशन बोलाएर कारवाही गर्न माग गरेका छन् । शपथ ग्रहणका क्रममा हिजो राष्ट्रपति र प्रधानमन्त्रीले जानीजानी राज्य बिरूद्धको अपराध गरेको कारवाही हुनुपर्ने डाक्टर आचार्यको तर्क छ । संविधानविद् आचार्यले भने–संविधान र राष्ट्रको स्वाधीनतालाई गिज्याउनु राज्य विरूद्धको अपराध हो। ’

त्यसैले तत्काल संसद्को विशेष अधिवेशन आब्हान गरी कारवाही अघि बढाउन उनले माग गरे । राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधान र लोकको कुनै आदर र कदर बाँकी नरहेको समेत आचार्यले टिप्पणी गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिने क्रममा हिजो प्रतिज्ञा गर्छु भन्ने शब्द उच्चारण नगरेपछि राष्ट्रपति भण्डारीले फेरि प्रतिज्ञा गर्छु भनेर दोहोर्याउँदा समेत प्रधानमन्त्री अ‍ोलीले त्यो पर्दैन भनेका थिए । यही विषयमाथि संविधानविद् आचार्यले शपथको भिडियो राखेर प्रतिक्रिया दिएका हुन् ।

प्रधानमन्त्री ओली निकटस्थ व्यक्तिहरु बचाउमा उत्रिँदा संविधान आचार्यको प्रतिक्रिया आएको छ । हिजो प्रधानमन्त्रीले शपथमा त्यो पर्दैन भनेर अशोभनीय व्यवहार देखाउँदा राष्ट्रपति हाँसेकी थिइन् । जसको सर्वत्र आलोचना भैरहेको छ । र, फेरि शपथ लिनुपर्ने आवाज पनि उठिरहेको छ ।