काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बैशाख २७ गते संसद्मा विश्वासको मत लिंदैछन् । संसद् सचिवालयले विषेश अधिवेशनको तयारी तीब्र बनाएको छ । यता विपक्षी दलहरुले पनि प्रधानमन्त्रीलाई असफल बनाउन तयारी तीब्र बनाएका छन् । एमालेकै माधव नेपाल समूहले पनि विपक्षीहरुसँग मिलेर ओलीविरुद्धको गठबन्धनमा सहभागीता जनाएपछि ओलीले विश्वासको मत नपाउने निश्चित जस्तै बनेको छ ।
विपक्षीहरुबीच गठबन्धन बनाउने सहमति भएपछि त्यो गठबन्धन भत्काउन ओलीले प्रयास जारी राखेका छन् । हिजो कांग्रेस सभापति शेरबहादुर देउवालाई निवासमै पुगेर भेटेका ओलीले माधव नेपाललाई पनि फोनमार्फत फकाउने प्रयास गरेका थिए । तर देउवा र नेपाल दुबैबाट साथ दिन नसक्ने जवाफ पाएपछि ओली थप तनावमा परेका छन् ।
कांग्रेस, माओवादी, एमालेको नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहबीच, ओलीलाई विश्वासको मत लिन असहयोग गर्नेदेखि अविश्वासको प्रस्ताव पेश गर्ने र राष्ट्रियसभा निर्वाचनमा एक भएर लड्नेसम्मको सहमति भएको बताइन्छ ।
यो गठबन्धनले नयाँ सरकारदेखि प्रदेश सरकार गठनमा पनि सहमति जुटाइसकेको स्रोतको दाबी छ । विपक्षीको गठबन्धन कायम भएसँगै ओली सरकार मात्र नभएर अधिकांश प्रदेश सरकार पनि धरापमा परेको छ ।
यता ओलीलाई साथ दिने भन्दै राजपाको महन्थ ठाकुर समूहले चलाएको हस्ताक्षर अभियान पनि विपक्षीबीच गठबन्धन कायम भएकोले नै स्थगित भएको छ । नेपाल समूहले नै साथ नदिने भएपछि आफूहरुले ओली सरकार बचाउन नसकिने भन्दै महन्थ समूह पनि विपक्षी गठबन्धनलाई नै सघाउने योजनामा पुगेको जसपा स्रोतले बतायो ।