काठमाडौं । पछिल्लो समय नेकपा एमालेभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । हिजोमात्रै अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र झलनाथ खनालसहित प्रतिनिधिसभाका २७ सांसद र कर्णाली प्रदेशका ५ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए । ओलीले स्पष्टीकरण सोधेसँगै कारबाहीको प्रक्रिया पनि अगाडि बढाएको स्रोतको दाबी छ ।
नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउन लागेको र उक्त प्रस्तावमा नेपाल पक्षधर सांसदहरुले कर्णालीमाजस्तै फ्लोर क्रस गर्ने सूचना पाएकोले माधव नेपाल पक्षधर सांसदहरुलाई तत्काल कारबाही गर्ने तयारीमा ओली रहेको बताइन्छ ।
यता माधव नेपाल पक्षधर सांसद योगेश भट्टराईले आज प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको खुलेको छ । स्रोतकाअनुसार बालुवाटारमा भएको करिब एक घण्टाको भेटवार्तामा सांसद भट्टराईले कारबाही नगर्न र पार्टी एकताबद्ध बनाएर लैजान आग्रह गरेका थिए ।
माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको भने आज पनि बानेश्वरमा जुटेका छन् । उनीहरु ओलीको कदमविरुद्ध आजै अदालत जाने तयारीमा छन् ।