माधव नेपाल समूहको आकस्मिक बैठकले गर्यो यस्तो निर्णय

माधव नेपाल समूहको आकस्मिक बैठकले गर्यो यस्तो निर्णय

काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहले अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने निर्णय गरेको छ। ओलीले ३२ जना सांसदलाई स्पष्टीकरण सोधेपछि आकस्मिक बसेको बैठकले जवाफ दिने तर पार्टीभित्र संघर्षरत रहने निर्णय गरेको रामकुमारी झाँक्रीले बताइन्। 

एमालेमै रहेर ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने निष्कर्षसमेत निकालेको छ। आगामी १० गते कारबाही गरे कानुनी रुपमा अदालतसम्म जान सक्ने उनले बताइन्। ‘हामीले राजनीतिक लडाईं लडिरहेका छौँ। विधि, पद्धतिको पक्षमा छौँ। स्पष्टीकरण दिनलायक छैन। तर, हामी कानुनतः लड्ने भएकाले जवाफ फर्काउँछौँ’, उनले भनिन्, ‘हामीले संघर्ष गरेर यहाँसम्म पार्टी ल्याएका हौँ। हामी कहाँ छाडेर जान्छौँ। यही रहेर संघर्ष गछौँ।’

ओली पार्टी विभाजनको पक्षमा लागेको पनि उनले आरोप लगाइन् । त्यस्तै फुटाउने उद्देश्यले आफूहरूमाथि झुटा आरोप लगाइएको पनि झाँक्रीले बताइन्। अध्यक्ष ओलीले २८ फागुनमा एकलौटी निर्णय गरेर पार्टीलाई विभाजनतर्फ लगेको भन्दै नेताहरुले त्यसको सामना गर्ने पनि उनले बताइन्। 

ओलीले आज पार्टीका २७ प्रतिनिधिसभा सदस्य (सांसद) लाई स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरण सोधिएका नेताहरुले एमालेको नाम र निर्वाचन चिह्न 'सूर्य'को दुरुपयोग गरी पार्टीले अवलम्बन गर्दै आएको राजनीतिक विचारधारा, दर्शन र कार्यक्रमभन्दा भिन्न गतिविधि सञ्चालन गरेको र नयाँ राजनीतिक दल गठन गर्नुअघि संगठनात्मक आधार खडा गर्न भेला गर्दै हिँडेको अध्यक्ष ओलीको आरोप थियो।