काठमाडौं । जनता समाज पार्टी (जसपा)ले आज सोमबार लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका सो पार्टीका चार सांसदलाई सरकारबाट फिर्ता आउन निर्देशन दिएको छ। जसपाको लुम्बिनी प्रदेश कमिटीले उनीहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन दिएको हो।
‘मन्त्री बनेका चार सांसद पार्टीको निर्देशनविपरित सरकारमा गएको हुँदा प्रदेश कमिटीले उहाँहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन दिएको छ,’ लुम्बिनी प्रदेशमा जसपाका संसदीय दलका नेता सहसराम यादवले भने, ‘फिर्ता नआएमा पार्टीले कारबाही अगाडि बढाउँछ।’
सोमबार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाले संयुक्तरुपमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको केहि घण्टाभित्रै उनीहरु पोखरेलकै नेतृत्वमा मन्त्री बनेका हुन्। जसपाका सांसदहरु विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बनेका हुन्।