राष्ट्रवादी भनिएका ओली भारतको टाङमुनि छिरिसके : देउवा

राष्ट्रवादी भनिएका ओली भारतको टाङमुनि छिरिसके : देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली भारतको शरणमा पुगेको आरोप लगाएका छन् । सोमबार नेपाल विद्यार्थी संघको ५२औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले भारतविरोधी नाराबाट उदाएका ओली अहिले भारतसामु त्वंशरणम् भएको आरोप लगाएका हुन् । 

प्रधानमन्त्री ओलीसँग कुनै राष्ट्रवाद नरहेको देउवाको दाबी छ । कम्युनिस्टहरू अवसरवादी भएकाले अहिले नै कांग्रेसको नेतृत्वमा सरकार बन्ने खालको परिस्थिति आइनसकेको उनको भनाइ छ । आशा नभए पनि सम्भावना भएकाले आफूले सरकार परिवर्तन गर्ने विषयमा छलफल गरिराखेको उनले बताए । 

उनले भने, ‘हिजो सबैभन्दा राष्ट्रवादी भन्ने ओली अहिले इन्डियाको त्वंशरणम् भए । भारतविरोधी नाराबाट झुल्केका ओली अहिले भारतको टाङमुनि छिरिनै सके । कहाँ छ उनको राष्ट्रवाद रु त्यसकारण यिनीहरू राष्ट्रवादी पनि होइनन्, केही होइन । यिनीहरू खालि एउटा अवसरवादी हुन् । त्यसकारण हेर्दै जाऔँ परिस्थिति के हुन्छ । मैले धेरै आशा पनि राखेको छैन र सम्भावना पनि उत्तिकै छ । राजनीति भनेको सम्भावनाको खेल पनि भन्छन् । आर्ट अफ पोसिबिलिटी पनि भन्छन्, त्यसकारण हामीहरू लागिरहेका छौँ ।’

आफूले प्रधानमन्त्री ओलीलाई हटाउन नचाहेको भन्ने कुरा सत्य नभएको देउवाको भनाइ छ । ओली सरकारले हरेक ठाउँमा हतकडी लगाएर राजनीतिलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको पनि उनले बताए । ओलीलाई हटाउने कुरामा सल्लाह भइराखेको र अहिले नै भन्न सक्ने स्थिति नरहेको उनको भनाइ छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन्न नसक्ने पनि देउवाले बताए । 

कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सरकार संवैधानिक निकायहरूलाई कब्जा गर्ने उद्देश्यसहित अगाडि बढिरहेको आरोप लगाए । न्यायपालिका, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग सबैको निष्पक्षता र स्वतन्त्रता गुम्ने खतरा रहेको उनको जिकिर छ ।