काठमाडौं । सरकारले पूर्व निर्धारित परीक्षाहरु नरोक्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड सम्बन्धी आदेश जारी गर्दै पूर्व निर्धारित परीक्षाहरु स्वास्थ्य मापदण्ड अपनाएर सुचारु गर्ने निर्णय गरेको हो ।
त्यसबाहेक देशका प्रमुख शहरहरूका शैक्षिक संस्थाहरु बैशाख महिनाभर भौतिक रुपमा बन्द गर्ने तर बैकल्पिक माध्यमबाट पठनपाठन सुचारु गर्ने निर्णय गरेको छ ।
साथै सरकारले सीमा नाकामा होल्डिङ सेन्टर स्थापना गर्ने भएको छ । सीमा नाकामार्फत आउजाउ गर्नेलाई व्यवस्थापन गर्न नाकामा एक हजार क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।
बैठकले सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढि यात्रु राख्न नपाउने निर्णय पनि गरेको छ । सार्वजनिक यातायातमा यात्रुले माक्स अनिवार्य लगाउनुपर्ने त्यसैगरी गाडीलाई नियमति सेनिटाइज गर्नुपर्ने, चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्ने, हवाइ यातायातको हकमा पर्याप्त स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने निर्णय बैठकले गरेको छ ।