काठमाडौं । प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकको अघिल्लो दिन आइतबार एमालेको झलनाथ खनाल माधव कुमार नेपाल समूह आधिकारिकता दावी गर्दै निर्वाचन आयोग पुगेको छ ।
ओलीले गत फागुन २८ पछि गरेका केन्द्रीय समितिमा मनोनयनलगायतका सबै खनाल समूहले राजनीतिक दलसम्बन्धी ऐनअनुसार छिनोफानो गरिदिन आयोगलाई निवेदन दिएको हो ।
निर्वाचन आयोगलाई सम्बोधन गर्दै पठाइएको दलको पदाधिकारी, केन्द्रीय कमिटी र केन्द्रीय कमिटीको निर्णयको आधिकारकतासम्बन्धी निवेदनमा पार्टीमा गम्भीर विवाद सिर्जना भएको उल्लेख गर्दै यसमा निर्णय गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
सके एमाले आफ्नो बनाउने, नसके वैधानिक रुपमा छुट्टिने खनाल नेपाल समूहको तयारी रहेको छ । खनाल नेपाल समूहले बहुमत पदाधिकारी आफ्नो पक्षमा रहेकाले पार्टी सञ्चालनको आधिकारिकता आफूमा रहेको दावी गरेको छ ।
साथै ओलीले सोमबार महाधिवेशन आयोजन समिति बोलाएको अवस्थामा त्यसको वैधतामाथि यो समूहले प्रश्न उठाएको छ । एमाले अनुशासन आयोगले समेत फागुन २८ को निर्णय फिर्ता लिन आग्रह गरेको छ, भनेर कान्तिपुर दैनिकमा खबर छ ।