सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन् । नेपाली कांग्रेस र फ्लोर क्रस गरेर विश्वासको मत दिएका नेकपा एमालेका सांसदहरुलाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले बताइन् ।
प्रमुख सचेतक नेपालीका अनुसार मुख्यमन्त्री शाहीले अबको एक साताभित्र मन्त्रिमण्डल पुनर्गठन गर्ने गरी नेताहरुसँग छलफल अगाडि बढाएका छन् । ‘प्रदेशको सत्ता समीकरण नयाँ ढंगले अघि बढेको छ, मुख्यमन्त्रीज्यू संकटका बेला आफूलाई साथ दिने दल र नेताहरूलाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गर्ने गरी छलफलमा जुट्नु भएको छ,’ प्रमुख सचेतक नेपालीले भनिन् ।
अल्पमतमा परिसकेका मुख्यमन्त्री शाहीलाई अन्तिम समयमा आएर नेपाली कांग्रेस र एमालेको माधव नेपाल समूहका चारजना सांसदले विश्वासको मत दिएका थिए ।