बालुवाटारमा सर्वदलीय बैठक, को-को भए उपस्थित ?

बालुवाटारमा सर्वदलीय बैठक, को-को भए उपस्थित ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आह्वान गरेको सर्वदलीय बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी सर्वदलीय  बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरलगायत संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको नेताहरू सहभागी छन्।

तर, सरकारलाई समर्थन गरिरहेको माओवादी केन्द्रले भने बैठकबारे जानकारी नभएको भन्दै सहभागी भएको छैन। यस्तै, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु पनि बैठकबारे जानकारी नभएको भन्दै बालुवाटार गएका छैनन्‌।

​त्यस्तै, ओलीले बोलाएको बैठकमा उनी इतर समूहका माधवकुमार नेपाल र झलनाथ खनाल सहभागी छैनन्। जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पनि बैठकमा उपस्थित भएनन्। ओलीले बोलाएको बैठकमा सरकारविरुद्ध मोर्चाबन्दी गरिरहेको नेताहरू उपस्थित छैनन्।

समसामयिक राजनीति, संसद् अधिवेशन, कोरोना भाइरसको महामारीलगायतका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई बोलाइएको हो। प्रधानमन्त्री ओलीले यसअघि गत मंसिर २३ मा पनि सर्वदलीय बैठक आह्वान गरेका थिए।