जसपा पदाधिकारी बैठकः आफ्नै नेतृत्वमा सरकार बनाउने आन्तरिक सहमति !

जसपा पदाधिकारी बैठकः आफ्नै नेतृत्वमा सरकार बनाउने आन्तरिक सहमति !

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को दुई दिनसम्म राजधानीमा बसेको पदाधिकारी बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने आन्तरिक सहमति जुटाएको छ । प्रधानमन्त्रीमा बाबुराम भट्टराई र महन्थ ठाकुरमध्ये कसलाई  अघि सार्ने भन्नेचाहिँ जसपाले टुंग्याएको छैन ।

दुई दिनसम्म चलेको बैठकमा विशेष रुपमा सत्ता समीकरणको विषयमा व्यापक छलफल भएको थियो । जसपामा देखिएको दुई पक्ष, अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराई एवं अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको आ–आफ्नो अडान बैठकमा पनि कायमै रह्यो । तर, एउटा कुरामा सहमति भयो, त्यो हो जसपाकै नेतृत्वमा सरकार बनाउने ।

प्रधानमन्त्री केपी ओलीले जसपा नेपालको माग पूरा गर्ने प्रकृया सुरु गरिसकेका हुनाले तत्कालै त्यसको विरुद्ध कुनै पनि क्रियाकलाप नगर्ने भनी अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको तर्क थियो भने ओलीले माग पूरा गरे पनि त्यसको बहिर्गमनका लागि जसपा नेपालले पहल गर्नुपर्ने अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराईको तर्क थियो ।

अन्ततः आफ्नै नेतृत्वमा सरकार बनाउने गरी दुवै पक्ष सहमतिको विन्दुमा आएका छन् । जसपाको नेतृत्वमा सरकार गठन गर्नका लागि सहयोग गर्न दलहरुलाई आह्वान गर्ने बैठकले निर्णय गरेको एक नेताले जानकारी दिए ।