सीसीएमसीको प्रस्तावमाथि छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै

सीसीएमसीको प्रस्तावमाथि छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज साँझ बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नियमित बैठक बस्न लागेको हो । नयाँ प्रजातिको कोभिड संक्रमणको जोखिम बढिरहेका बेला नियन्त्रणका लागि सरकारले चाल्ने थप कदमबारे आजको बैठकमा छलफल हुने बताइएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको सीसीएमसीको शनिवारको बैठकले पछिल्लो जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषदमा सिफारिस गरेको छ । सीसीएमसीको सो सिफारिसमाथि बैठकमा छलफल हुनेछ । सीसीएमसीले काठमाडौंलगायतका शहरी क्षेत्रमा ३ साता विद्यालय बन्द लगायत अन्य नयाँ मापदण्डहरु सिफारिस गरेको छ ।

यसबीचमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले खोप आपूर्तिका लागि भारतीय समकक्षीहरुसँग टेलिफोन संवाद गरिरहेका छन् । सरकार कोभिडको दोस्रो लहर नियन्त्रणतर्फ केन्द्रित रहेको सरकारका प्रवक्ता पार्वत गुरुङले बताए ।