कांग्रेसको नेतृत्वमा सरकार बनाउन नसकिने जसपाको निश्कर्ष

कांग्रेसको नेतृत्वमा सरकार बनाउन नसकिने जसपाको निश्कर्ष

काठमाडौं । सत्ता समीकरणका लागि निर्णायक ठानिएको जनता समाजवादी पार्टी (जसपा)ले कांग्रेसको नेतृत्वमा सरकार बनाउन तत्काल सम्भव नभएको निश्कर्ष निकालेको छ । राजधानीमा आइतवार बसेको जसपा पदाधिकारीको बैठकमा बहुसंख्यक सदस्यहरु कांग्रेसको नेतृत्वमा सरकार बनाउन सम्भव नभएको निश्कर्षमा पुगेका हुन् । 

शुक्रवार कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने भन्दै सहयोगका लागि माओवादी केन्द्र र जसपासँग आग्रह गरेको थियो । माओवादीले कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएपनि जसपाले पार्टीमा छलफल गरेर निर्णय दिने बताएको थियो । 

‘तत्काल कांग्रेसको नेतृत्वमा सरकार बनाउन सम्भव छैन, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हामीहरुका माग पूरा गर्ने प्रतिबद्धता जनाएकोले सरकारसँगै हामी छलफल अघि बढाउछौ’ जसपाका एकजना नेताले  भने । जसपाले लाल आयोगको प्रतिवेदन कार्यान्वयन तथा राजनीतिक आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता गर्न सरकारसँग माग गरेको छ । 

जसपाका अर्का नेता लक्ष्मणलाल कर्ण आफूहरुका माग जसले पूरा गर्छ उसैसँग सहकार्य गर्ने पार्टीको नीति रहेको बताए । सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल तथा राजपाको तर्फवाट कर्णको नेतृत्वमा वार्ता टोली गठन गरी पटक पटक अनौपचारिक छलफल भइसकेको छ । कतिपय प्रक्रियाका विषयमा छलफल बाँकी रहेपनि जसपाका माग पूरा गर्नेबारे सरकारसँग सहमति नजिक पुगिएको ती नेताले बताए । 

अध्यक्ष महन्थ ठाकुर, प्रभावाली नेता राजेन्द्र महतो लगायत जसपाका बहुसंख्यक नेताहरु ओली सरकारबाटै आफूहरुका माग पूरा गराउने पक्षमा छन् । अर्का अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु भने ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छन् ।