भीम रावलले केपी ओलीलाई लगाए गम्भीर आरोप

भीम रावलले केपी ओलीलाई लगाए गम्भीर आरोप

धनगढी । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो गुटमा तान्न जनप्रतिनिधिलाई धम्क्याउन थालेको बताएका छन्। आफ्नो गुटमा नआए पद खोस्ने भन्दै ओलीले धम्की दिन थालेको आरोप रावलको छ।

आइतबार दिउँसो सुदुरपश्चिम प्रदेश पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन गर्दै रावलले जनप्रतिनिधिलाई ओलीले गुटमा तान्न धम्क्याउने गरेको आरोप लगाएका हुन्। ‘प्रधानमन्त्रीले वडा, पालिका र विभिन्न पदमा निर्वाचित जनप्रतिनिधिहरूलाई गुटमा तान्ने प्रयास गर्दैछन्। प्रधानमन्त्रीले धम्क्याउने र तर्साउने क्रियाकलाप गर्नु निन्दनीय छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले को जनप्रतिनिधिलाई धम्क्याएको वा तर्साएको भन्नेबारे उनले नाम खुलाएनन्। निर्वाचित प्रतिनिधिको पद प्रधानमन्त्रीले धम्क्याउँदैमा नजाने उनको भनाइ थियो। ‘पद जाने अवस्था भनेको या त पार्टी छोडेको हुनुपर्यो या देशको हितविपरीत कार्य गरेको ठहर हुनुपर्यो,’ उनले भने, ‘तपाईंहरू नेकपा एमालैमा हुनुहुन्छ र कानुनबमोजिम काम गरिरहनुभएकै छ भने कसरी पद जान्छरु’

आफूमाथि ओलीले गरेको कारवाही विधानअनुसार नभएको उनले बताए। ओलीले रावललाई छ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन्।