अबको चुनावमा ओलीको पार्टीलाई चौथोमा पुर्‍याइदिन्छौं : प्रचण्ड

अबको चुनावमा ओलीको पार्टीलाई चौथोमा पुर्‍याइदिन्छौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा दलहरूसँग मोर्चा बनाएर केपी शर्मा ओलीको पार्टीलाई चौथो स्थानमा पुर्‍याइदिने बताएका छन्। माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको शनिबार काठमाडौंमा भएको भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘आगामी चुनावमा मोर्चा बनाएर केपी ओली समूहको पार्टीलाई चौथो पार्टी बनाउँछौँ। अहिले नेपाल पत्रकार महासंघको चुनावमा आफूहरुको पहलमा मोर्चाबन्दी गर्दा राम्रो परिणाम आएको छ। ओलीको समूहलाई चौथो नम्बरमा पुर्‍याउन सफल भएका छौँ।’ 

जसपाका नेताहरूसँग पनि माओवादीको ुवेभलेन्थु पहिले देखि नै मिल्दै आएकोले मोर्चा बन्न सक्ने बताए। कांग्रेससँग सरकारमा सहकार्य र चुनावी तालमेल गरेमा आगामी चुनावमा ओली चौथो दल हुने र उनको विघटनको यात्रा शुरु हुने टिप्पणी गरे। 

उनले भने, ‘मोर्चा त बन्छ बन्छ र बनाउनैपर्छ भन्ने लागेको छ। मोर्चा बनाउनेमा चाहिँ हामीहरू र नेकपा एमालेभित्रको एउटा पक्षसँग मोर्चा त बनिराखेकै छ। अघि भर्खरै म एउटा कार्यक्रममा गएँ कर्मचारीको नेता साथी आउनुभएको थियो उहाँले हामीले भन्दा राम्रो बोल्नुभयो। उता पट्टिको भएपनि। त्यो लभ त गएको छैन नी। अर्कोले डिभोर्स गरिदिए पनि। अर्को जसपाका नेताहरुसँग हाम्रो वेभलेन्थ धेरै नै मिल्छ। अहिले मात्रै मिलेको होइन उहिले देखि मिल्दै आएको वेभलेन्थ हो। त्यसकारण त्यहाँ मोर्चा बन्न सक्छ।’ 


जसपासँग मोर्चा अर्को पक्षसँग मोर्चा र नेपाली कांग्रेससँग कम्तिमा सरकारमासँगै र चुनावी तालमेल भयो भने त्यो पनि ठूलो कुरा हुने बताए। 

‘अब अहिले मोहन विक्रमहरुसँग, वैद्यहरूसँग पनि एकताको सपना देख्नु त एउटा कुरा हो तर अहिले भइहाल्छ भनेर धेरै लोभ गर्ने र धेरै आस गर्न नी हुँदैन। तर, मोर्चा चाहिं बन्छ। मोर्चा बन्यो भने जस्तो पत्रकार महासंघको चुनाव भयो त्यसको आव्हान कर्तापनि हामी नै भइयो र मूलभूत रूपमा जितियो देशैभरी र ओलीलाई चौथो नम्बरमा पुर्याइएको छ’ उनले भने, ‘तपाई हेर्नुहोला चौथो नम्बरमा पुर्‍याइएको छ। आउने चुनावमा हामीले मोर्चा राम्रोसँग बनाएर हामी त्यसमा इमान्दार भयौं र मेहनत गर्यौं भने चौथो नम्बरमा पुग्ने पालो केपीको हो त्यसपछि उनको विघटन शुरु हुन्छ।’