केही दिनभित्रै नयाँ सरकार आउँछ : प्रचण्ड

केही दिनभित्रै नयाँ सरकार आउँछ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै नयाँ सरकार गठन हुने बताएका छन्। उनले प्रधानमन्त्री केपी ओलीको सरकार धेरै दिन नरहने बताए। शनिबार नेपाल निजामती कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद भेलालाई सम्बोधन गर्दै प्रचण्डले जनतालाई दुःख नदिइकन, आन्दोलन नगरिकन नयाँ सरकार गठनको प्रयासमा आफूहरू रहेको बताए।

‘केही दिनभित्रै कालो बादल हट्छ,’ प्रचण्डले भने, ‘यो प्रयास निरन्तर रुपमा अघि बढाइरहेका छौं।’ प्रचण्डले देशलाई अप्राकृतिक रुपमा विखण्डित गर्ने प्रयास राष्ट्र र जनताकै लागि निकै पीडा भएको बताए। उनले अहिले जबरजस्ती राज्यसत्ता कब्जा गर्ने अभियान चलेको पनि बताए।

उनले ७० प्रतिशत पार्टीको संसदीय संख्याले गरेको निर्णय संविधान र ऐन अनुकूल थियो भन्दै सेटिङमार्फत् आधिकारिकतालाई सरकारले खारेज गरेको बताए। ‘संसदीय दलको बहुमतले हस्ताक्षर गरेर केपी ओलीलाई दलको नेताबाट हटाएको थियो। संसद सचिवालयमा दर्ता गरिएको थियो। यो वैधानिक थियो,’ प्रचण्डले भने, ‘तर, सरकारले सेटिङमार्फत आधिकारिकलाई खारेज गरिदियो। जे अवैधानिक र छलछाम छ त्यसलाई कायम गरिदियो।’  उनले हटाइसकेको प्रधानमन्त्री र पार्टी अध्यक्षलाई फेरि कायम राखिएको बताए।