काठमाडौं । सरकारले पारलैंगिक अभियन्ता भूमिका श्रेष्ठलाई नागरिकता दिने निर्णय गरेको छ। गृह मन्त्रालयको प्रस्तावमा कैशाल श्रेष्ठको नाम परिवर्तन गरी भूमिका श्रेष्ठ राख्न मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको सरकार प्रवक्ता तथा सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरूङले जानकारी दिए।
उनले सुरूमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट कैलाश श्रेष्ठको नाममा २०६२ साल असोजमा नागरिकता लिएकी थिइन्। उनले नागरिकताको उल्लेखित विवरणको नाममा भूमिका श्रेष्ठ र लिंगमा अन्यबाट महिला कायम गर्न आग्रह गरेकी थिइन्।
त्यसै अन्तर्गत मन्त्रालयले नागरिकतामा उनको नाम र लिंग परिवर्तन गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो।
साथै विभिन्न मितिमा भएका मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै गुरुङले संविधानको धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले टोपबहादुर रायमाझीलाई ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय, लेखराज भट्टलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रभु साहलाई सहरी विकास मन्त्रालय र गौरीशंकर चौधरीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा जिम्मेवारी तोकी नियुक्त गरिएको बताए।