प्रचण्डविरुद्ध मुद्दा हाल्ने तयारीमा टोपबहादुर रायमाझी

प्रचण्डविरुद्ध मुद्दा हाल्ने तयारीमा टोपबहादुर रायमाझी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा एमालेमा पुगेका ऊर्जामन्त्री टोपबहादुर रायमाझी अहिले कारबाहीमा परेका छन् ।  संसद् पदबाट निलम्वन गरेपछि रायमाझी भने माओवादीसँग रुष्ट बनेका छन् ।

रायमाझीले आफूलाई कारबाही गर्न प्रचण्ड र माओवादी पार्टीको हैसियत नभएको भन्दै आक्रोश पोखेका छन् । माओवादी केन्द्रको कारबाही गरेपछि प्रचण्ड र माओवादीविरुद्ध उनले कानुनी लडाई लड्ने तयारी समेत गरेको बताएका छन् ।

प्रचण्ड र माओवादी पार्टीसंग आफूलाई कारबाही गर्नसक्ने हैसियत नै नभएको दाबी गर्दै उनले माओवादीको निर्णयविरुद्ध आफूले कानुनी रुपमा लड्न तयारी गरिरहेको पनि बताएका छन् । प्रचण्डले आफ्नो स्वार्थ पूरा नभएपछि जे पनि गर्न सक्छन् भन्ने यो निर्णयले देखाको पनि उनको भनाइ छ ।

उनले भनेका छन्, ‘यो कारबाहीको औचित्य छ जस्तो लाग्दैन । मलाई कारबाही गर्न प्रचण्डले जिताएको हो र ? म त दुई पार्टीको एउटै घोषणापत्र देखाएर निर्वाचित जनप्रतिनिधि हुँ’, माओवादीले कारबाही गर्ने हैसियत के छ ? त्यसैले यो निर्णयविरुद्ध कानुनी रूपमा लड्न तयारी गरिरहेको छु ।’

माओवादीले आफ्नो पार्टीबाट निर्वाचित रायमाझीसहित लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभू शाहलाई सांसदबाट हटाउँदै साधारण सदस्य समेत नरहने गरी निस्काशन गरेका थियो ।