ओली सरकारका यी चार मन्त्रीलाई सांसदबाट हटाउन माओवादी केन्द्रले पठायो पत्र

ओली सरकारका यी चार मन्त्रीलाई सांसदबाट हटाउन माओवादी केन्द्रले पठायो पत्र

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले  प्रधानमन्त्री केपी शर्मा ओली सरकारका चार मन्त्रीलाई सांसद पदबाट हटाउन पत्र पठाएको  छ। गएको स्थायी समिति बैठकको निर्णय कार्यान्वयन गर्दै माओवादी केन्द्रले  ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहलाई सांसद पदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको छ।

आज प्रतिनिधि सभामा रहेकाहरूलाई सांसद पद नरहने  गरी चिठी पठाइएको माओवादी केन्द्रका राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्माले बताए। उनीहरू चार जनालाई सांसदबाट हटाउन पठाएको पत्र संसद सचिवालय पुगिसकेको सचिवालय स्रोतले जानकारी दियो।

ओली समूहमा गएर मन्त्री बनेका खानेपानी मन्त्री मणि थापा र खेलकुद मन्त्री दावा लामा भने सांसद छैनन्। सांसद नरहे पनि ६ महिनासम्म मन्त्री हुन पाइने भएकाले प्रधानमन्त्री केपी ओलीले नियुक्ति दिएका थिए। राष्ट्रिय सभा सदस्य रहेका गृह मन्त्री रामबहादुर थापा बादलको सांसद पद खारेज गर्न भने अर्को दिन पत्र पठाइने बताइएको छ।