आज सुदूरपश्चिम प्रदेशमा माधव नेपाल समूहले अलग्गै कमिटी घोषणा गर्दै

आज सुदूरपश्चिम प्रदेशमा माधव नेपाल समूहले अलग्गै कमिटी घोषणा गर्दै

महेन्द्रनगर । नेकपा एमालेको माधव नेपाल समूहले सुदूरपश्चिम प्रदेशमा आज आफ्नो अलग्गै कमिटी घोषणा गर्ने भएको छ। नेपाल पक्षीय एक नेताका अनुसार भीम रावलको नेतृत्वमा कैलालीको धनगढीमा सोमबारदेखि जारी प्रदेशस्तरीय विस्तारित बैठक समानान्तर कमिटी घोषणा गर्दै आज सम्पन्न हुने भएको हो। रावल ओली समूहद्वारा ६ महिनाका लागि पार्टीको साधारण सदस्यताबाटै निलम्बित नेता हुन्। तर उनले त्यसलाई अस्वीकार गरेका छन्। रावलसहित माधव नेपाल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि उही कारबाही गरिएको छ। तर नेपाल पक्षले सर्वोच्च अदालतको फैसलबमोजिम एमाले २०७५ जेठ २ को अवस्थामा हुनुपर्ने जिकिर गरेको छ।

सोहीअनुसार सुदूरपश्चिममा कमिटी कायम गर्ने र त्यसमा रिक्त रहेका स्थानमा नयाँ नेतालाई जिम्मेवारी दिने तयारी नेपाल पक्षले गरेको छ। एक नेताका अनुसार प्रदेशका ९ वटै जिल्लामा जिल्ला बैठक आयोजना गरी कमिटी बनाउन निर्देशन पनि जारी गरिनेछ।

केही दिनअघि मात्र अध्यक्ष ओली समूहले त्यहाँ नेपाल पक्षमा रहेका जिल्ला पदाधिकारीलाई हटाउँदै आफूपक्षीयलाई जिम्मेवारी दिएको थियो।