खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै, ओलीविरूद्ध अभियानको घोषणा गरिने

खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै, ओलीविरूद्ध अभियानको घोषणा गरिने

काठमाडौं । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले पालैपालो आफ्नो समूहका नेतामाथि कारबाही गर्न थालेपछि एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहले ओलीविरूद्ध अभियान चलाउने भएको छ।

सर्वोच्चले २३ फागुनमा गरेको फैसलाअनुरूप अध्यक्ष ओलीले पार्टी सञ्चालन नगरी स्वेच्छाचारी ढंगले गतिविधि गरेको तथा जिम्मेवार नेताहरूमाथि कारबाही गरेको विषयलाई तलैसम्म स्पष्ट पार्ने गरी खनाल–नेपाल समूहले शनिबार अभियानको घोषणा गर्न लागेको हो।

अध्यक्ष ओली नै पार्टी विभाजन गर्न उद्यत् रहेको निष्कर्ष निकाल्दै उनको कदम रोक्न देशभर समानान्तर संगठन विस्तार गर्ने निर्णय यसअघिनै गरिसकेको छ। देशव्यापी समानान्तर संगठन निर्माणमा जुटेको खनाल–नेपाल समूहले शनिबार राजधानीमा ओलीविरुद्ध अभियानको घोषणा गर्ने भएको छ।

अध्यक्ष ओलीले वरिष्ठ नेता नेपालसहित चार नेतालाई पार्टीबाट निलम्बन गरेपछि त्यस विषयमा छलफल गर्न शुक्रबार बसेको खनाल–नेपाल समूहका स्थायी कमिटी बैठकले आज देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए ।

दिउँसो तीन बजे बस्ने बैठकले संगठन सुदृढीकरण, प्रशिक्षण सञ्चालन लगायतका विषयमा राष्ट्रव्यापी अभियान घोषणा गर्ने भएको छ। खनाल–नेपाल समूहले अभियानमा गत ४ र ५ चैतमा गरेको राष्ट्रिय कार्यकर्ता भेलाबाट पारित कार्यपत्रलाई विस्तृत रूपमा दस्ताबेजका रूपमा तयार पारेर पार्टीको तल्लो तहसम्म छलफल गर्ने योजना बनाएको छ।

नेता भट्टराईका अनुसार अदालतले पार्टीलाई पुरानै अवस्थामा फर्काए पनि ओलीले त्यसको कार्यान्वयन नगरेको ठहर आफ्नो समूहले गरेको स्पष्ट पारेका छन्। फैसला कार्यान्वयन गर्दै पार्टी एकताको रक्षा गर्न देशभरका पार्टी कार्यकर्तालाई आह्वान गर्ने निर्णय भएको उनले बताए ।

भेलामा वरिष्ठ नेता नेपालले प्रस्तुत गरेको कार्यपत्र अनुमोदन गर्दै १७बुँदे समसामयिक प्रस्ताव पारित गरेको थियो । देशभरका चार हजारभन्दा बढी नेता–कार्यकर्ताको दुईदिने भेलाले अध्यक्ष ओलीले पार्टी विभाजन गर्न खोजेको भन्दै सर्वोच्च अदालतको आदेशअनुसार पार्टीलाई २ जेठ ०७५ मा फर्काउने र सबै कमिटी ब्युँताउने निर्णय गरेको थियो ।

उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि ओलीले गरेको कारबाहीलाई स्वेच्छाचारी, पार्टीको नवौँ महाधिवेशनको विधानविपरीत र पूर्वाग्रही भएको ठहर गर्दै भत्र्सना र निन्दा गरेको छ । ओलीले यसअघि वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावललाई १६ चैतमा नै स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै ६ महिनाका लागि पार्टी सदस्यबाटै निलम्बन गरेका थिए । यो कारबाहीले ओली एमालेलाई विभाजन गर्न उद्यत् छन् भन्ने पुष्टि भएको नेता भट्टराईको भनाइ छ ।