मन्त्रिपरिषद्को बैठक आज सिंहदरबारमा बस्दै

मन्त्रिपरिषद्को बैठक आज सिंहदरबारमा बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवारका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। यसअघि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्दै आएको बैठक आज भने सिंहदरबारमा बस्न लागेको हो।

बैठक साँझ ६ बजे बस्ने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए। बैठक नियमित भएको र नियमित एजेन्डामै छलफल हुने मन्त्री गुरुङले बताए। झन्डै डेढ वर्षपछि सिंहदरबारमा पहिलोपटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो। 

यसअघि कोभिड-१९ संक्रमण, प्रधानमन्त्री ओली बिरामी भएका कारण मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै आएको थियो। यसो त सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालय मर्मत गरिएको थियो। मर्मत गरिएको कार्यालय प्रधानमन्त्री ओलीले फागुन ३ गते उद्घाटन गरेका थिए।