जनता समाजवादी दल (जसपा) का संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। अध्यक्षद्वय भट्टराई र यादव देउवालाई भेट्न बुधबार उनकै निवास बूढानीलकण्ठ पुगेका थिए।
भेटमा बर्तमान राजनीतिक अवस्था लगायत सत्ता समीकरणबारे छलफल भएको डा भट्टराई निकट एक नेताले जानकारी दिए। सत्ता समीकरणबारे भने सहमति जुट्न नसकेको उनले बताए। जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्यका लागि निरन्तर वार्ता गरिरहेका बेला भट्टराई र यादव भने ओलीलाई साथ दिने पक्षमा छैनन्।
नयाँ गठबन्धन बनाएर ओलीलाई सरकारबाट हटाउनुपर्ने अडानमा रहेका भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि पटकपटक भेट गरेका छन्।