काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले समानान्तर गतिविधि रोक्न नेता माधवकुमार नेपाल समूहलाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै नेता ज्ञवालीले पार्टीमा समानान्तर गतिविधि कायम राखे कारबाही हुने चेतावनी दिए । उनले एमाले मन नपरे अर्को पार्टी खोल्न वा अर्को कुनै दलसँग जोडिन आग्रह गरे ।
‘नेकपा एमालेको नाममा कुनै पनि समानान्तर गतिविधि गर्न मिल्दैन । त्यो भनेको घोषित रुपमा पार्टीलाई विग्रहमा पुर्याउने, पार्टीलाई विखण्डित गर्ने, पार्टीलाई विभाजित गर्ने कुरा हो’ परराष्ट्रमन्त्रीसमेत रहेका नेता ज्ञवालीले भने । उनले अघि भने, ‘मलाई नेकपा एमाले मन पर्दैन भने अर्कै पार्टी खोल्छु, या देशमा विद्यमान कुनै पार्टीसँग जोडिन्छु भन्न पाइन्छ, नेपालको संविधानले हामीलाई त्यो छनोटको स्वतन्त्रता दिएको छ । विचारको छनोटको, समर्थनको छनोटको स्वतन्त्रता दिएको छ ।’
एमालेको माधवकुमार नेपाल समूहले जिल्ला तहसम्म समानान्तर गतिविधि गरिरहेका बेला उनले कारवाहीको चेतावनी दिएका हुन् । एमालेभित्र बसेर एमालेलाई कमजोर बनाउने गतिविधि गरे कारबाही हुने ज्ञवालीले चेतावनी दिए ।