नेकपा बदरको फैसलाविरुद्ध आज सर्वोच्च अदालत जाँदै प्रचण्ड

नेकपा बदरको फैसलाविरुद्ध आज सर्वोच्च अदालत जाँदै प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर गरिएको फैसला पुनरवलोकनका लागि तत्कालीन नेकपाका एक अध्यक्ष एवं सर्वोच्चकै फैसलाबाट हाल पुनर्स्थापित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सर्वोच्च अदालतमा निवेदन हाल्ने भएका छन्।

निवेदन हाल्न अहिले बिहान ११ बजे प्रचण्ड अदालत पुग्ने कार्यक्रम रहेको स्रोतले जानकारी दिएको छ। पार्टीको नाम विवादबारे ऋषि कट्टेलले २ वर्षअघि हालेको मुद्दामा सर्वोच्च अदालतले गत फागुन २३ गते उनकै नेकपा वैधानिक र एमाले–माओवादी केन्द्र मिलेर बनेको नेकपा अवैधानिक भनेर फैसला गरेको थियो। साथै ती पुरानै दुई दल कायम गरिदिएपछि नेकपाबाट अलग्गिएका एमाले र माओवादीका कतिपय नेता अदालतले मागदाबीभन्दा बढी फैसला गरेर ‘राजनीतिक’ निर्णय गरेको भन्दै असन्तुष्ट छन्।

यसै क्रममा माओवादी केन्द्रले फैसलाविरुद्ध पुनरवलोकन गर्ने निर्णय गर्दै कानुनविद्सँगको परामर्शमा निवेदनसमेत तयार पारिसकेको थियो। सोहीबमोजिम उसले सर्वोच्चमा निवेदन हाल्न लागेको हो।