काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेका छन्। दुवैलाई पत्र पठाएर ६ महिनाका लागि निलम्बन गरिएको हो।
'तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो। आफ्ना विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ,' नेपाललाई पठाइएको पत्रमा भनिएको छ।
दुवैलाई यसअघि स्पष्टीकरण सोधिएको थियो। उनीहरुले कैयौं प्रतिप्रश्न गर्दै जवाफ फर्काएका थिए।