काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जेलमा रहेका जनता समाजवादी पार्टी (जसपा) सांसद रेशम चौधरीलाई छाड्ने सरकारको कुनै तयारी नरहेको बताएका छन् । एक अन्तर्वार्तामा ओलीले अदालतको आदेशले जेलमा रहेको व्यक्तिलाई छोड्ने विषय मन्त्रिपरिषद्को अधिकारभित्र नपर्ने स्पष्ट पारे ।
‘सरकार कानूनी राजमा विश्वास गर्छ । मन्त्रिपरिषद्ले रेशमका सम्बन्धमा फैसला गर्ने होइन । फैसला अदालतले गर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘रेशमलाई छोड्ने भाषण त प्रचण्डले गर्नुभएको थियो । मैले आजका मितिसम्म छोड्छु भनेर कतै बोलेको छु र ?’
प्रधानमन्त्री ओलीले सभामुख अग्नि सापकोटा सेटिङमा लागेको गम्भीर आरोप लगाएका छन् । उनले सभामुख सापकोटाले तटस्थ भूमिका निर्वाह नगरेको बताएका हुन् ।