काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको साथ छोड्ने संकेत देखिएको छ । नेकपा माओवादी केन्द्रका नेता शाही २०७४ फागुन ४ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
नेकपा नाम विवादलाई सर्वोच्च अदालतले किनारा लगाउँदै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताईदिएपछि पनि मुख्यमन्त्री शाहीलाई साथ दिँदै आएको नेकपा एमालेको नेपाल समुहका सांसदहरुले साथ छोड्ने तयारी गरेका हुन् । नेपाल समूहका सांसद सुशील थापाले पछिल्लो समय कर्णाली सरकारलाई समर्थन गर्न सक्ने अवस्थामा आफुहरु नरहेको बताए । उनले भने, ‘अब पहिलेको जस्तो अवस्था रहेन् । सरकारलाई समर्थन गर्न सक्ने अवस्थामा हामी छैनौं ।’
सांसद थापाले मुख्यमन्त्री शाहीलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिने दलको निर्णयलाई सबैले समर्थन गर्ने पनि बताए । ‘दलको बैठकले समर्थन फिर्ताको निर्णय गरिसकेकाले यसलाई टुङ्गोमा पुर्याउँछौं,’ उनले भने, ‘अव कर्णालीमा एमालेको नेतृत्वमा सरकार बन्छ ।’
उनले पार्टीको तर्फबाट सरकारमा रहेका मन्त्रीहरुले चाँडै राजीनामा दिने पनि बताए । कर्णालीमा एमालेबाट शाही नेतृत्वको सरकारमा तीन जना मन्त्रीहरु सहभागी छन् । ‘एक साताभित्रै दलको बैठक बस्छ, १९ जना सांसदहरु उपस्थित हुन्छौं,’ उनले भने, ‘एमालेकोतर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले पनि राजीनामा दिनुहुन्छ ।’
चैत ४ गते एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएको थियो । तर नेपाल समुहले उक्त बैठकलाई ‘गुटको बैठक’ भन्दै मुख्यमन्त्रीलाई आफुहरुको समर्थन कायमै रहेको बताएको थियो । संसदीय दलका नेता यामलाल कँडेलले चाँडै दलको बैठक बस्ने बताए ।