काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) को असन्तुष्ट समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठक कलंकीको एक ब्यांकेटमा बैठक सुरु भएको हो ।
बैठकमा ४५ जना केन्द्रीय सदस्य सहभागी भएका छन् । नेताहरू उपत्यकाबाहिर भएकाले सबै सदस्य सहभागी नभएको खनाल–नेपाल पक्षको भनाइ छ ।
नेपाल समूहका नेता भीम रावलले राजधानीमा उपलब्ध केन्द्रीय कमिटीका सदस्यहरुसँग छलफलका लागि बैठक बोलाइएको जानकारी दिएका छन् । बैठकमा आगामी रणनीतिका बारेमा छलफल हुने बताइएको छ ।
पार्टी एकतालाई जोगाउनका लागि चाल्नुपर्ने कदमनै छलफलको मुख्य एजेन्डा भएको एमाले स्रोतले जनाएको छ । सर्वोच्च अदालतले फागुन २३ गते तत्कालीन नेकपा एमाले ब्युँताएपछि नेपाल समूहले समानान्तर गतिविधि गर्दै आएको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली एकपक्षीय ढंगले पार्टी सञ्चालन गर्न खोजेको, मनोमानी केन्द्रीय सदस्यको मनोनयन गरेको र नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल समूह आक्रामक बनेको छ ।