सरकारमा सहभागीताबारे प्रधानमन्त्रीसँग छलफल गर्न जसपा नेपालका नेताहरु बालुवाटारमा

सरकारमा सहभागीताबारे प्रधानमन्त्रीसँग छलफल गर्न जसपा नेपालका नेताहरु बालुवाटारमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार गएका छन् । महन्थ ठाकुरको नेतृत्वमा सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण मंगलबार बिहान बालुवाटार गएका हुन् । 

सत्ता साझेदारीका लागि निर्णायक भूमिका निर्वाह गर्ने अवस्थामा रहेको जसपा नेपालले ओली सरकारलाई निरन्तरता दिने वा विकल्प खोज्ने भन्नेबारे प्रस्ट धारणा बनाइसकेको छैन । सो पार्टीले आफ्ना माग पूरा भए पछिमात्र सत्ता साझेदारीका लागि आवश्यक निर्णय लिने बताउँदै आएको छ । 

रेशम चौधरीको रिहाइ, मधेस तथा थरूहट आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लगायतका माग अघि सारेको सो पार्टीले प्रधानमन्त्री ओलीसँग बारम्बार छलफल गर्दै आएको छ ।

जसपा नेपालका नेताहरुले केहीदिन अघि काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेका थिए ।

पछिल्लो साय आफ्ना माग पूरा गर्न प्रधानमन्त्री तयार रहेको भन्दै महन्त पक्षका नेताहरु ओली सरकारमा सहभागि हुनुपर्ने बताउँदै आएको छ । यसै पेरिफेरीमा आज बालुवाटारमा भएको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ ।