प्रधानमन्त्री ओली र जसपाबीच सहमति, सरकारमा सहभागी गराउने तयारी हुँदै

प्रधानमन्त्री ओली र जसपाबीच सहमति, सरकारमा सहभागी गराउने तयारी हुँदै

काठमाडौं । नयाँ सरकार बनाउन विभिन्न किसिमका अभ्यास भइरहेका बेला सरकार र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता समीकरणबारे सहमति भैसकेको बुझिएको छ । स्रोतका अनुसार जनता समाजवादी पार्टी नेपालले राखेका सर्तमा प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाएका छन् । यससँगै जसपालाई सरकारमा सामेल गराउन प्रधानमन्त्रीले पहल गर्ने भएका छन् । 

उनीहरूबीच सहमति भैसकेको र अब कार्यान्वयन गर्नमात्र बाँकी रहेको स्रोतले बतायो । आफ्नो पार्टीले राख्दै आएका माग पूरा गर्ने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएपछि सरकारमा सहकार्य गर्ने तयारी जसपाले गरेको छ ।

जसपा स्रोतका अनुसार पछिल्लो समयमा प्रधानमन्त्री ओलीसँग जसपा अध्यक्ष महन्थ ठाकुर निकै नजिकिएका छन्। एक–डेढ महिनायता उनीहरूबीच पटकपटक भेटघाट र कुराकानी भएको स्रोतले बताएको छ। जसपाले राखेका माग पूरा गर्न सरकारले कार्यदलसमेत गठन गरेको छ। सो कार्यदलमा सरकारका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल तथा नेताहरू सुवास नेम्वाङ र राजन भट्टराई छन्।

जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहेको कार्यदल बनाइएको छ। शुक्ल र कर्ण दुवै अध्यक्ष ठाकुरनिकट हुन्। ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवसँग समेत छलफल नगरी आफ्नो एकल निर्णयमा कार्यदल गठन गरेका थिए। कार्यदल सहमति भैसकेको स्रोतको दाबी छ ।