सामूहिक छलफलपछि ओली र नेपाल एक्लाएक्लै वार्तामा

सामूहिक छलफलपछि ओली र नेपाल एक्लाएक्लै वार्तामा

काठमाडौं । नेकपा एमालेका दुई पक्षको छलफल सकिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच एक्लाएक्लै भेटवार्ता सुरु भएको छ। धुम्बाराहीमा सामूहिक छलफल सकिएपछि दुई नेताबीच एक्लाएक्लै वार्ता चलिरहेको स्रोतले बतायो ।

आज दुवै पक्षबीच झन्डै दुई घण्टा छलफल भएको थियो। छलफल सकारात्मक भएको छलफलमा सहभागी नेता रघुजी पन्तले जानकारी दिए। उनका अनुसार दुवै पक्षले आ(आफ्नो अडान राखेका थिए। आफूहरुले ओली पक्षले २८ गते गरेको एक पक्षीय निर्णय नमान्ने स्पष्ट पारेको पन्तले बताए।

छलफलका लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित उनी पक्षका नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली तथा सुवास नेम्वाङ सहभागी भएका छन्। त्यस्तै, माधवकुमार नेपाल पक्षबाट उनीसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट सहभागी भएका थिए।