काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ। पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले उनीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी र दावा लामा केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री छन् । उनीहरुसहित माओवादीका २३ नेतालाई शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमालेको केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्य मनोनित गरिसकेको छ।
एमालेको कमिटीमा राखिएका संघीय तथा प्रदेश सांसदहरुलाई २४ घण्टाभित्र आफ्नो स्थिती स्पष्ट पार्न पनि बैठकले निर्देशन दिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।
बैठकले चैत २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सूचना नआएसम्म स्थगित गरेको छ । भोली केन्द्रीय कमिटी बैठक भने बस्ने माओवादी केन्द्रले जनाएको छ।