नेपाल–खनाल समूहले ओलीको प्रतिवाद गर्न समानान्तर कमिटी बनाउने, बाेलायाे आफू पक्षीय केन्द्रीय कमिटीकाे बैठक

नेपाल–खनाल समूहले ओलीको प्रतिवाद गर्न समानान्तर कमिटी बनाउने, बाेलायाे आफू पक्षीय केन्द्रीय कमिटीकाे बैठक

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले गरेका निर्णयलाई वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूहले विधानविपरीत भएको निष्कर्ष निकालेको छ । यो समूहले आज ११ बजे आफू पक्षीय केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ। शुक्रबार साँझ केपी शर्मा ओलीले एकलौटी ढंगले केन्द्रीय कमिटी पुनर्गठन गर्दै महाधिवेशनको मिति तोकेपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएर शनिबार बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो।

शुक्रबार साँझ बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल–खनाल पक्षको आकस्मिक स्थायी कमिटी बैठकमा भीम रावलले बालुवाटार बैठकमा भएका निर्णयले महाधिवेशनको नीति निर्देशन उलंघन गरेको आरोप लगाए । उनले सुरुमा नेकपा फुटाउने षड्यन्त्र गरेको र दुई पार्टीको एकता समाप्त भएपछि एमाले पार्टी फुटाउने सोचले काम गरेको देखिएको आरोपसमेत लगाए ।

विधान विपरितको कामको विरोध र अस्वीकार गर्ने निर्णय गरिएको उनले बताए । पार्टीलाई तहसनहस बनाएर राष्ट्रियता र स्वाधिनता अप्ठेरोमा पार्ने काम गरेको भन्दै यो विषयमा बैठकमा गम्भीर समीक्षा भएको रावलको भनाइ छ ।

त्यस्तै नेता रघुजी पन्तले शुक्रबार बालुवाटारमा भएको ओली समूहको भेला विधि विपरीतको बैठक भएको आरोप लगाए। बैठकले एमालेभित्र समानान्तर कमिटी बनाउने निर्णय गरेको बताइएको छ । अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारी खारेज गर्ने, आफू पक्षका नेताहरुको जिम्मेवारी खोस्नेलगायतको निर्णय गरेपछि खनाल नेपाल समूह आक्रोशित भएको छ ।