जसपाले प्रधानमन्त्रीमा दाबी गर्ने, भट्टराई, ठाकुर र यादवमध्ये जस्लाई प्रधानमन्त्री स्वीकारिन्छ उही संसदीय दलको नेता !

जसपाले प्रधानमन्त्रीमा दाबी गर्ने, भट्टराई, ठाकुर र यादवमध्ये जस्लाई प्रधानमन्त्री स्वीकारिन्छ उही संसदीय दलको नेता !

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज पनि संसदीय दलको नेता चयन गर्न सकेन । शुक्रबार बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने अपेक्षा गरिए पनि आन्तरिक विवादका कारण उक्त विषयलाई थाँती राखिएको बताइन्छ । नयाँ सत्ता समीकरणका लागि निर्णायक भूमिका निर्वाह गर्ने स्थानमा रहेको जसपा नेपालले अहिलेसम्म आफ्नै संसदीय दलको नेता चयन गर्न सकेको छैन । 

संसदीय दलको नेताका लागि महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, डा। बाबुराम भट्टराई आकांक्षी छन् । जसपाले प्रधानमन्त्रीमा दाबप् गर्ने तयारीमा रहेकोले जस्लाई प्रधानमन्त्री बनाउन अन्य दल तयार हुन्छन् उसैलाई दलको नेता चुन्ने तयार राजपाले गरेको स्रोतले बतायो । 

बैठकमा संसदीय दलको विधानसमेत प्रस्तुत भएको छ । विधान अध्ययन गरी अर्को बैठकमा यसलाई पारित गर्ने जनाइएको छ । जसपा नेपालले विकसित राजनीतिक परिस्थितिका बारेमा दलहरूसँग छलफललाई निरन्तरता दिने भएको छ । संसदीय दलको बैठकले दलहरूसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको हो ।

सो पार्टीका नेता राजेन्द्र श्रेष्ठका अनुसार जसपा नेपालले शुक्रबार नै नेपाली काँग्रेससँग छलफल गर्दैछ । काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्नका लागि जसपाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा। बाबुराम भट्टराई बूढानीलकण्ठ जाने उनको भनाइ छ ।

बैठक पछि नेता राजकिशोर यादवले विगतदेखि नै आफ्नो दललाई सत्ताको लागि प्रयोग भएको आरोप लाग्ने गरेको बताउँदै अब नेतृत्व गर्न तयार रहेको बताए । अब काँग्रेस–एमालेसँग जसपाको नेतृत्वमा सरकार बनाउने प्रस्ताव गर्ने उनको भनाइ छ ।