देशमा कुनै अनिष्ट हुँदैछ कि भन्ने आशंका उब्जाएको छ: प्रचण्ड

देशमा कुनै अनिष्ट हुँदैछ कि भन्ने आशंका उब्जाएको छ: प्रचण्ड

बुटवल । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा खारेज गरी एमाले र माओवादी केन्द्रलाई ब्युँताउने सर्वोच्च अदालतको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। गत फागुन २३ गते सर्वोच्चले ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको थियो। 

‘जन्मिएको बच्चालाई फेरि आमाको गर्भमा पुर्‍याइदिने परिघटनाले देशमा कुनै अनिष्ट हुँदैछ कि भन्ने आशंका उब्जाएको छ,’ उनले भने। यसैगरी, प्रचण्डले दलित मुक्तिका लागि वर्षौदेखि आन्दोलन भइरहे पनि विभेद यथावत रहेको उल्लेख गरे। 

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले गणतन्त्र, संविधान र उत्पीडित समुदायको अधिकार रक्षाको लागि अब हुने आन्दोलन भने शान्तिपूर्ण हुने बताए। उनले विद्रोह र हिंसामा जाने आफ्नो उद्देश्य नभएको बताए। उनले नेपालमा भएको परिवर्तनलाई उल्टाउने षडयन्त्र भइरहेको दाबी गरे। 

संविधानको रक्षा गर्ने कि हत्या गर्ने भन्ने दुईथरी बहस चलिरहेको उल्लेख गर्दै उनले यो लडाइँ र बहसमा संविधानको रक्षा गर्नेहरूको जीत हुने बताए। दश वर्षे जनयुद्धपछि तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र आफूले १२ बुँदे शान्ति सम्झौतामा हस्ताक्षर गरी मुलुकलाई शान्तिको मार्गमा अगाडि बढाएको उनले उल्लेख गरे।