काठमाडौं । केन्द्रीय कमिटीको बैठक आगामी चैत १ गते बस्ने तयारी नेकपा एमालेले गरेको छ । केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले चैत १ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी छलफल चलिरहेको तर अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको बताए ।उनले भने, ‘आज शीर्ष नेताहरुसँग छलफल भएपछि मात्रै एकीनका साथ भन्न सकिन्छ ।’
सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग्याइदिएपछि एमालेको केन्द्रीय समितिको बैठक बस्न लागेको पहिलो पटक हो । बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
एमाले व्युँतिएपछि पनि पार्टीका नेताहरुबीच सम्वादहीनताको अवस्था छ । खासगरी माधव नेपाल पक्षले आफूहरुसँग छलफल र सल्लाह नगरी अध्यक्ष केपी शर्मा ओली अघि बढेको गुनासो गर्दै आएको छ । केन्द्रीय कमिटीको बैठकले आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने र अन्य पार्टीबाट आएकाहरुलाई उचित जिम्मेवारी दिन नेतृत्वलाई म्यान्डेट दिने अपेक्षा गरिएको छ ।
केन्द्रीय कमिटीमा अध्यक्ष ओली स्पष्ट बहुमतमा छन् । ओली पक्षीय नेता सुवास नेम्वाङले माओवादी केन्द्रको धारमा लागेर सरकारविरुद्ध आन्दोलन गरेका माधव नेपाल र झलनाथ खनाल पक्षलाई पार्टीमा सम्मानजनक व्यवहार हुने बताएका छन् ।