काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग जनता समाजवादी पार्टीका शीर्ष नेताहरुले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ भेट भएको हो ।
प्रधानमन्त्रीसँगको वार्ता सकारात्मक रहेको जसपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिए। उनका अनुसार जसपाले मधेस थरुहट आन्दोलनमा जेलमा रहेका कैदीबन्दीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनको माग अघि सारेको थियो । उनले भने, ‘प्रधानमन्त्रीले सकारात्मक छु भन्नुभएको छ ।’ भेट सत्ता साझेदारीमा केन्द्रित रहेको जसपा नेताहरुको भनाइ छ ।
सत्तारुढ एमाले र जसपा कार्यदलबीच शुक्रबार पुनः भेट हुने छ । भेटमा प्रधानमन्त्री ओलीसहित एमाले नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, राजन भट्टराई सहभागी थिए । यसैगरी जसपाबाट महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोककुमार राई, लक्ष्मणलाल कर्ण सहभागी थिए ।