एमाले र माओवादी बीच नयाँ ढंगले पुनः एकता हुन्छ  : ईश्वर पोखरेल

एमाले र माओवादी बीच नयाँ ढंगले पुनः एकता हुन्छ  : ईश्वर पोखरेल

पर्सा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्था अन्त्य र संसद्‌मा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन्।  प्रेस सेन्टर पर्साद्वारा आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'प्रतिनिधिसभामा दलहरुबीच समन्वय भई प्रक्रिया सामान्य ढंगले अगाडि नबढे ताजा जनादेशमै जानुपर्छ।'

निर्वाचनका लागि तयार हुन आम मतदाता समक्ष आग्रह समेत गरे।  एमाले नेता पोखरेलले सर्वोच्च अदालतको फैसलाबाट उत्पन्न भएको वर्तमान राजनीतिक अवस्थाको सामना गर्दै एमाले र माओवादी केन्द्रका जिल्लादेखि केन्द्रसम्ममा नयाँ ढंगले पुनः एकता हुने धारणा व्यक्त गरे। 

दलको नामबारे अदालतले दिएको फैसलाले दुवै पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा पुर्‍याए पनि पार्टी बीचको एकता र  पार्टीका नेता कार्यकर्तालाई सम्मानजनक ढंगले व्यवस्थापन गर्ने सोचका साथ एमाले अगाडि बढेको जानकारी दिए। 

बारा र पर्सामा सडक निर्माण तथा पूर्वाधार विकासका काममा देखिएको बेथितिको चाँडै अन्त्य हुने विश्वास व्यक्त गरे। ठेक्का सकार गर्ने र लामो समयसम्म काम नगरी सर्वसाधारणलाई दुःख दिने प्रवृत्तिको अन्त्यका लागि प्रधानमन्त्री ओलीसँग भेटी आग्रह गरिने पनि पोखरेलले जानकारी दिए।